ग्यास सिलिन्डर विस्फोट भएर घाइते हुनु भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
बुधबार राति ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनु भएका सांसद भण्डारी र उहाँकी आमा हरिकलालाई भारत लगेर थप उपचार गरिन लागेको हो ।
उहाँहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई भारत लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।
सांसद भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको र फोक्सोमा समेत असर गरेकाले उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उहाँकी आमा हरिकलाको शरीरको ७० प्रतिशत भाग जलेकाले अवस्था निकै गम्भीर रहेको अस्पतालले जनाएको छ ।
यसैगरी, सांसद भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीलगायतले अस्पताल नै पुगेर जानकारी लिनु भएको थियो ।