दाहाललाई ५ वर्षै प्रधानमन्त्री बनाउने कांग्रेसको संकेत

नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत गरेकाे छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबै भन्दा स्वभाविक हुने बताउनुभयो । उहाँले संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताउनुभयो ।

संचारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबै भन्दा उत्तम विकल्प भएपनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको बतउनुभयो । उहाँले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताउनुभयो ।

प्रवक्ता महतले सबै भन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको बताउनुभयाे । अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *