काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलार्ई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज पीडित र लघुवित्त पीडितहरुमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने उहाँको भनाई थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सरकारले संविधानमा उल्लेख गरिएको वाक स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने हकको हनन् हुने गरी उनीहरुमाथि प्रहरी लगाएर लाठी प्रहार गर्न लगाएको भन्दै त्यसो नगर्न पनि सचेत गराउनुभयो ।
उहाँले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिनुभयो ।
सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको पनि दोहोर्याउनुभयो ।