ठमाडौं । यही बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न अन्तिम कसरत गरिरहेका छन् ।
गत वर्षको मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका थिए । तर यादव गत चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो क्षेत्रको उपनिर्वाचनलाई निकै चासोका साथ हेरिएको पनि छ ।
किनकि यो क्षेत्रमा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादव,नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का तर्फबाट नेपाल प्रहरीका पूर्व डिआजी रमेश खरेल र सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुसवाहा चुवानी मैदानमा छन् । उनीहरुले मतदाता तान्न बिभिन्न भेला,गोष्ठी,सभा र घरदैलो गरिरहेका छन् । बैशाखको यो गर्मीमा पनि उम्मेदवारहरु मतदाताका घर घरमा पुगेका छन् ।
चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा
बारा क्षेत्र नम्बर –२ मा साना दल र स्वतन्त्रबाट उम्मेदवारी परेपनि मुख्य प्रतिस्पर्धा जसपाका अध्यक्ष यादव,एमालेका पौडेल,रास्वपाका खरेल र जनमतका कुसवाहाबीच नै हुनेछ । जसपाका यादवलाई सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको समर्थन छ । यादव गत मंसिर ४ मा सप्तरी –२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । उता राम्रो संगठन र जनाधार भएको एमाले पनि बारामा निकै बलियो मानिन्छ । त्यस्तै काठमाडौं क्षेत्र नम्बर १ बाट गत मंसिरमा चुनाव हारेका रमेश खरेल प्रहरीमा जागिर खाँदा सरुवा भएर बारामा बसेको र त्यतिबेला आफूले गरेको कामको आधारमा भोट पाउने विश्वासमा रहेका छन् ।
उता जनमतका उम्मेदवार कुसवाह माओवादी छोडेर टिकट पाउने भएपछि जमतमा लागेका हुन् । उनी गत मंसिरमा माओवादीका तर्फबाट उम्मेदबार बनेर रामसहाय यादवसँग ३५४ मतले पराजित भएका थिए । रामसहायले १३ हजार ८ सय २२ मत ल्याउँदा कुसवाहको १३ हजार ४ सय ६८ मत आएको थियो ।
बलिया मानिएका यी चारैजना उम्मेदवारहरु एक अर्कालाई रोकेर आफू प्रतिनिधि सभामा प्रवेश गर्ने रणनीतिमा छन् । यो क्षेत्रमा १ लाख ५ हजार ११ जना मतदाता रहेका छन् । जसमा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ जना रहेका छन् ।