काठमाडौं । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ ।
प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । बागमतीले यसपटक अघिल्लो संस्करणको तुलनामा ५ खेल थपेको हो ।
नवनिर्मित पिप्ले क्याम्पा रंगशालामा प्रदेश मुख्यमन्त्री शालीकराम जमकट्टेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ तथा गत वर्ष असोज–कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश टिमले हासिल गरेको सफलताका आधारमा खेलको प्रतिस्पर्धा थपेको हो ।
दोस्रो संस्करणमा फुटबल, रग्वी, तेक्वान्दो, कराते, आईटीएफ तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, एथलेटिक्स, भलिबल, क्रिकेट, जुडो, उसु र क्रिकेट समावेश गरिएको छ । प्रतियोगितामा २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कांस्य गरी ७ सय ९४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यो संस्करणमा १४ सय २७ पुरुष र १ हजार ७५ महिला गरी २ हजार ५सय २ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता १३ जेठसम्म चल्नेछ ।