काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यसवर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ ।
तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो ।
साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार एक सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताउनुभयो ।
भन्सारमा आएको मलको परीक्षण र इनपेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई मल बुझाउन सकिने सत्यालको भनाई छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न,लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको जानकारी दिनुभयो । उहाँले तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तिमा ६२ प्रतिशतसम्म राजस्व संकलन हुने अवस्था देखिएको बताउनुभयो ।
त्यस्तै, तातोपानी भन्सार व्यवस्थापनको जिम्मवारी पाएको ट्रान्सिल ट्रमिनल्सका प्रवन्धक अनिरुद्र थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्नसक्ने क्षमता रहेकाले त्यही अनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिएको बताउनुभयो ।
भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा एकतर्फी सञ्चालनमा आइरहेको थियो । गत मे १ तारिखदेखि भने आयात निर्यातको दुवैलागि नाका सञ्चालनमा आएको छ ।