काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताउनुभएको छ ।
सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनुभयो ।
मन्त्री ज्वालाले अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खु-भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गर्नुभयो । उहाँले अबको एक साताभित्र सडकखण्डको कालोपत्रे हुने पनि बताउनुभयो । उहाँले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तिब्रता दिने बताउनुभयो ।
मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तिब्र गतिमा अघि बढेको आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेको बताउनुभयो ।