कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। कर्णाली बाहिरका मानिसहरूले कर्णालीलाई हेर्ने दृष्टिकोण पनि सोही सरह भयो। तर पछिल्ला दिनहरूमा यसबारे क्रमशः सुधार आउँदै छ।
कर्णाली जति विकट छ त्यति नै सुन्दर पनि छ। यहाँको भू–बनोटको प्रचार नभएर मात्रै हो। कर्णालीलाई भू–स्वर्ग भन्दा पनि केही फरक पर्दैन। यहाँ पुगेर अध्ययन गरेकाहरू भन्छन्, ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णालीको सुन्दरता देखाउन मात्रै सके कर्णालीलाई यसैले पाल्छ।’
कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएका दर्जनौँ स्थान छन्। तर, अधिकांश ओझेलमा छन्। यसको विकासकासँगै प्रचार भने हुन सकेको छैन।
सरकारी उदासीनता र भौगोलिक जटिलताका कारण कर्णालीका सम्भावनाहरू सधैँ ओझेलमा पर्ने गरेका छन्। त्यसैले सुन सिरानी हालेर नुनको खोजीमा हिँडिरहेको कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ।
पटक–पटक चर्चामा त्रिवेणी पाटन
फुल र बुकीले ढपक्क ढाकेर बनेको सुन्दर पाटन। पाटनको बीच भागमा तीनवटा खोलाहरू। तीनवटै खोलाको संगममा सानो मन्दिर। मन्दिरको छेउबाट बगेको पानीको कलकल आवाज। चराचुरुङ्गीको चिरबिर स्वर। यत्रतत्र रंगीचंगी फूलहरू। सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो। थरिथरिका जडिबुटीको मग्न बास्ना। यहीँ हो कालिकोटको त्रिवेणी पाटन।
नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका मुख्य विशेषता हुन्। समुद्री सतहबाट झन्डै ४ हजार २ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटनको सौन्दर्य त छँदै छ। ऐतिहासिक धार्मिक तथा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्व बोकेको छ। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो। यो पर्यटकीय सम्भावना बोकेको एवम् विशाल पाटन क्षेत्रको हो। बाजुरा जिल्लामा पर्ने बडीमालिका मन्दिरका कारण पनि यो चर्चामा छ।
त्रिवेणीमा नुहाएर बडीमालिका दर्शन गरे मनले चिताएको पूरा हुने विश्वास गरिन्छ। रोग व्याध नाश हुने, पदोन्नति हुने विश्वास छ। शुद्ध मनले दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जानकारहरु बताउँछन्।
त्रिवेणीको काखमा रहेका ३२ वटा ठूला–ठूला सुन्दर पाटनहरूले पर्यटकलाई मोहनी लगाउँछ। त्रिवेणी आउने आन्तरिक पर्यटकहरूले भू-स्वर्गको अनुभूति गर्छन्। तर, बाह्य पर्यटकको आगमन भने हुँदैन। भौगोलिक विकटता, यातायातको असुविधा, अन्य आवासीय असुविधाका कारण यो क्षेत्र ओझेलमा परेको छ।
नेपालैकै अग्लो दाबी झरना ओझेलमा
कर्णालीको अर्को प्रमुख पर्यटकीय गन्तव्य भनेको कालिकोटको पचालझरना हो। पचालझरना नेपालकै अग्लो झर्ना भए पनि नेपालकै अग्लो भन्न पाइएको छैन।
तत्कालीन जिल्ला विकास समिति, त्यसपछि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पटक–पटक पर्यटन बोर्डमा अभिलेख गरी बैधानिक्ता दिनका लागि दाबी पेस गरे पनि नेपाल पर्यटन बोर्डमा अभिलेख नगर्दा नेपालैकै अग्लो दाबी गरिएको पचालझरना ओझेलमा परेको छ।
कालिकोटको पचालझरना कुल ३ सय ८१ मिटर उचाइ छ। हाल नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लाको ह्याप्तुङ झरना ३ सय ६५ मिटर उचाइको छ। उक्त ह्याप्तुङ झरनाभन्दा कालिकोटको पचालझरना १६ मिटरले अग्लो छ। तर, पर्यटन बोर्डले कालिकोटको पचालभरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरी घोषणा नगर्दा नेपालकै अग्लो झरनालाई पनि भन्न पाइएको छैन।
जिल्ला सदरमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र चार घण्टा पैदल यात्रा गरेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने पचालझरना निकै रोचक छ।
बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना सहज रूपमा अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माणको कार्य पनि भइरहेको छ। यसको प्रचारप्रसार र सेवा सुविधा दिन सक्ने हो भने यो झरना नेपालकै पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन।
पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले भने, ‘पचालझरनालाई नेपालकै अग्लो झरनाका रूपमा मान्यता दिन पहल भइरहेको छ। यसका लागि पर्यटन बोर्डले नापी विभागमा यसको उचाई नाप जाँच गरी प्रमाणित गर्न पत्र पठाएको बुझिएको छ।’ पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ।
शे–फोक्सुन्डोमा पुग्दैनन् पर्यटक
कर्णालीभित्रको डोल्पा जिल्लामा पर्ने शे–फोक्सुन्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महत्त्वपूर्ण रमणीय गन्तव्य हो। शे–फोक्सुन्डो ताल धर्तीको अनुपम र सुन्दर उपहार जीवनमा एक पटक पुग्नैपर्ने स्वर्गको एउटा टुक्रा जस्तै भन्छन् यहाँ आउने पर्यटकहरू।
डोल्पाकै सामाजिक अभियन्ता रामचन्द्र न्यौपानेले भने, ‘पदयात्रामा रमाउने र यसको मजा लिनेहरूका लागि शे–फोक्सुन्डो तालको पदयात्रा महत्त्वपूर्ण छ। यो तालमा पुग्नका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएर यात्रा गर्नुपर्छ।’